August 1st, 2016

Poultry Food Feeding

काठमाडौं, साउन ।
कुखुरा पालन व्यवसायमा कूल लागतको करीब ८०–८५ प्रतिशत खर्च दानाको लागि हुने गर्दछ । अर्को तर्फ कुखुराको दानामा प्रयोग हुने मुख्य कच्चा पदार्थ (नेपालको सन्दर्भमा मकै) मानिसको पनि एक प्रमुख खाद्य अनाज हो । हाम्रो जस्तो खाद्यान्न अथाव भएको मुलुकमा खाद्य अनाज (मकै) को मात्रालाई कुखुराको दानामा केही मात्रामा भएपनि कम गर्न सकेमा खाद्य संकट न्यून गर्न केही मद्दत मिल्न सक्छ । अर्कोतर्फ कम पूँजी हुने कृषकहरुले सानो लगानीमा कुखुरा पाल्दा व्यवसायिक दाना खरीद गरी खुवाउँदा धेरै लागत दानामा खर्च भइ कम मुनाफा हुन्छ ।

अतः गाउँघरमा सानो लगानीमा कुखुरा पालन गर्नको लागि दानाको खर्च कम गर्न सके बढी मुनाफा लिन सकिन्छ । यस प्रयोजनको लागि कुखुराहरुलmाई छाडा छाडेर वा अर्ध छाडा छाडेर पाली आहाराको रुपमा घाँस खुवाई पालन गर्नु उपयुक्त हुन्छ । कुखुरा नउग्राउने जनावर भएकोले पूरै दानाको सट्टा घाँस मात्र खुवाएर पाल्न नसकिएता पनि कूल दैनिक आहाराको सुख्खा पदार्थको आधारमा करीव १० प्रतिशत भाग घाँसबाट आपूर्ति गर्न सकिन्छ ।

खुल्ला वा अर्धखुल्ला छाडेर पाल्ने प्रविधिका फाइदा :
मानिसको जनसंख्याको वृद्धि र प्रविधिको विकाससंगै हाल व्यवसायिक कुखुरा पालन व्यवसायको प्रमुख हिस्सा सघन प्रणाली भएता पनि पुरै खुल्ला वा अर्ध खुल्ला छाडेर र घाँस खान दिएर गरिने कुखुरा पालन पद्धतिका थुपै्र सवल पक्षहरु छन् । ग्रामीण भेगमा जहाँ प्रशस्त खाली जमिन उपलब्ध हुन्छ, त्यस्तो गाउँमा पूरै खुला वा अर्ध खुला छाडेर र घाँसपात कीरा, फट्याङ्ग्रा खान दिएर कुखुरा पाल्दा दानाको लागतमा कमी गर्न सकिन्छ ।

अर्कोतर्फ, खुल्ला छाडेर घाँसपात खुवाएर पालिएको कुखुराको मासु र अण्डाको स्वाद सघन प्रणालीमा पालिएका कुखुराको मासु र अण्डाको तुलनामा स्वादिलो र तिख्खर हुन्छ भन्ने विश्वासले गर्दा यस्ता कुखुराहरु उपभोक्ताको रोजाइमा पर्दछन् । यिनीहरुलाई बजारमा उच्च मूल्यमा बेच्न सकिन्छ । त्यसैगरी साना–साना विभिन्न कम्पाउण्डहरु बनाई घुम्ती प्रणाली अपनाई कुखुरा पाल्दा माटोको गुणस्तर बढन्ग इ जमीनको उर्वराशक्ति बढाउन सकिन्छ । त्यसैगरी, खुल्ला छाडेर घाँसपात खुवाएर पालिएका कुखुराहरु पर्याप्त मात्रामा खेल्न र प्राकृतिक आहारा खान पाउने हुनाले तुलनात्मक रुपमा बढी स्वस्थ र सफा हुन्छन् ।

खुल्ला छाडेर पाल्न सकिने कुखुराका जातहरु :
गाउँघरमा पूरै वा अर्ध छाडा छाडेर र घाँस खुवाएर पाल्नको लागि स्थानिय कुखुरा (साकिनी) र उन्नतजातका मासु र अण्डा दुवै प्रयोजनका लागि पालिने कुखुराका जातहरु उपयुक्त मानिन्छन् । यस प्रयोजनका लागि नेपालमा पालिने उन्नत जातका कुखुराहरुमा गिरीराजा, न्यु हेम्पसायर र अष्ट्रालोर्प प्रख्यात छन् । हाल यी जातका कुखुराहरु बंगूर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटार र क्षेत्रीय कृषि अनुसन्धान केन्द्रहरु तरहरा र परवानीपुरका साथै कृषि अनुसन्धान केन्द्र पाख्रीवासमा उत्पादन, अनुसन्धान र बिक्री वितरण भइरहेका छन् ।

यी कुखुराहरुले करीब १०–२२ हप्ताको उमेरदेखि अण्डा उत्पादन शुरु गर्दछन् । यी मध्ये गिरीराजा खास गरी मासुको लागि बढी उपयुक्त हुन्छ भने न्यु हेम्पसायर र अष्ट्रालोर्प खास गरी अण्डा उत्पादनको लागि उपयुक्त हुन्छन् । एक वर्षको अवधिमा पोथी न्यु हेम्पसायरले करीब १९० देखि २९० वटा, अष्ट्रालोर्पले १८० देखि २०० वटा र गिरीराजाले करीब १४० देखि १८० सम्म अण्डा पार्दछन् । औसत बयस्क तौल न्यु हेम्पसायर र अष्ट्रालोर्प जातको भालेको ३.५ किलो र पोथीको २.५ किलो तथा गिरीराजा भालेको ४.५ किला र पा े ेथीको ३.५ किलो पाइएको छ ।

कुखुरालाई घा“स खुवाएर दाना लागत कम गर्ने तरिका :
बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटारले गरेको अनुसन्धानको नतिजा अनुसार यी कुखुराहरुलाईअर्ध खुला छाडेर यी कुखुरामा कम्फ्रे घाँस (Symphytum स्पेचिएस) लाई दानाको रुपमा खुवाउँदा निकै सकारात्मक नतिजा पाइएको छ । न्यु हेम्पसायर जातका कुखुराको आहारामा सुख्खा पदार्थको आधारमा २० प्रतिशत दानालाई कम्फ्रे घाँसले प्रतिस्थापन गर्दा अण्डा तथा मासु उत्पादन र गुणस्तरमा प्रतिकूल असर नपरेको पाइयो भने उक्त प्रविधि प्रयोग गर्दा अण्डा तथा मासु उत्पादनको कुल लगातमा १५ प्रतिशतसम्म कम गर्न सकिने प्रारम्भिक नतिजा पाइएको छ |

यसरी गाउँघरमा सानो लगानीमा अण्डा र मासु दुवै प्रयोजनको लागि पालिने कुखुराहरु पालन गरी दैनिक कुल आहाराको करीब २० प्रतिशत भाग कम्फ्रे वा अन्य घाँसपातहरु (जस्तैः वार्सिम, लुसर्न, खेरगएको काउली, वन्दा, मुला वा सागका पातहरु, आदि) दिएर दानाको खर्च कम गर्न सकिन्छ । यसको लागि स्थानीय स्रोत (बाँस वा काठ) प्रयोग गरी खोर निर्माण गर्न सकिन्छ र खोर बाहिरको खाली जमिनमा २–३ वटा कम्पाउण्ड बनाई कम्फ्रे घाँस खेती गरी घुम्ती प्रणाली अनुसार कुखरा चराउन सकिन्छ वा कम्फ्रे घास लाई काटेर सिधै कुखुराको खोर भित्रै राखिदिन पनि सकिन्छ । यसरी, ग्रामीण भेगमा अण्डा र मासु दुवै प्रयोजनका लागि पालिने कुखुरालाई केही मात्रामा घाँस खान दिइ पालन गर्दा उत्पादन लागत घट्न गई प्रशस्त मुनाफा लिन सकिने देखिन्छ ।

Source: www.hamrosandesh.com