August 4th, 2016

श्रावण १९, २०७३- भरतपुर बजारमा ४ दिनअघि ३० रुपैयाँ किलोमा पाइने भिन्डीको मूल्य ८० पुगेको छ। चिचिन्डा र करेलाको मूल्य पनि तेब्बर बढेको छ। करेला ८० र चिचिन्डा किन्न ६० रुपैयाँ प्रतिकिलो खर्चिनु परेको छ। ‘अचम्म लाग्ने गरी मूल्य बढ्यो,’ गृहिणी सुमित्रा बस्नेतले भनिन्, ‘तरकारीभन्दा मासु सस्तो होलाजस्तो भो।’

निरन्तर वर्षा र बाढीका कारण उत्पादन भएको तरकारी बजार पुर्‍याउन मुस्किल भएपछि मूल्य ह्वात्तै बढेको हो। शनिबार यहाँ रायो साग प्रतिमुठा ७० सम्म पुग्यो। मंगलबार ५० रुपैयाँ मुठा थियो। बन्दा, घिरौंला, परवल, गेडागुडी, लौका, आलु, प्याज, हरियो खुर्सानीलगायत तरकारीको भाउ छुनै नसक्ने गरी बढेको छ। ‘बजारमा मनपरी मूल्य बढाउँदा नियन्त्रण गर्ने निकाय मौन छ,’ बस्नेतले भनिन्।

पछिल्लो समय तरकारीमा विभिन्न खाले रोग लागेकाले उत्पादन कम भएर मूल्य बढेको तरकारी व्यवसायी जितलाल राउतले बताए। उनले भने, ‘स्थानीय उत्पादन नभएर बाहिरबाट तरकारी आउन थालेपछि अकासिएको हो।’

यहाँका मुख्य बजारमा आयात गरिएको भन्दै मूल्य बढाइएको छ। ‘केही दिन अघिसम्म ३ देखि १० रुपैयाँमा किन्न नमान्ने ग्राहक अहिले त्यही तरकारी ८० रुपैयाँ किलो तिर्न बाध्य छन्,’ राउतले भने। यहाँका पहाडी क्षेत्रबाट तरकारी आउने गरेको छ। तराई र भारतबाट समेत भित्रिने गर्छ। महँगो हुन थालेपछि उपभोक्ता मारमा छन्। उनीहरू सम्बन्धित निकायले तत्काल नियन्त्रण गर्नुपर्ने बताउँछन्।

बिचौलियाका कारण तरकारी कृषकले उचित मूल्य नपाएको उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजन गौतमले बताए। ‘यहाँ भरपर्दो कृषि बजारसमेत छैन,’ गौतमले भने, ‘बाहिर बिचौलियाले जथाभावी मूल्य बढाएर उपभोक्ता मार्ने काम भइरहेको छ।’ प्रशासनले नियन्त्रणमा चासो देखाउनुपर्ने उनले बताए। स्थानीय स्तरमा उत्पादन भएका तरकारी बजारमा आउन नसकेपछि आयात गर्नुपर्दा महँगो परेको व्यापारी बताउँछन्। ‘पानी परेदेखि मूल्य बढेको हो,’ तरकारी व्यापारी मीना पाण्डे भनिन्, ‘हामीले जानजानी बढाएका होइनौं।’

ह्वात्तै वृद्धिले मर्का
बाढीले बारीमा लगाइएको तरकारी नोक्सान गरेपछि रुपन्देहीमा मूल्य ह्वात्तै बढेको छ। २ साता अघिको तुलनामा हरियो तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ। जिल्लाका मर्चवार, सूर्यपुरा, धकधई, देवदह, टिकुलीगढलगायत पकेट क्षेत्रमा बाढीले तरकारी नोक्सान गरेपछि आयात गर्नुपर्दा महँगो भएको व्यापारीको भनाइ छ।

हरियो तरकारीमा आत्मनिर्भर जिल्लामा अहिले भारतको टिडीघाट, ढोटीहवा, कजरी, अड्डाबजार लगायतबाट आयात भइरहेको छ। आन्तरिक तरकारी २५ प्रतिशत मात्र छ। साँझ–बिहान भान्सामा चाहिने तरकारी महँगिएपछि उपभोक्ता मारमा परेका छन्। ‘सबै तरकारीको भाउ ह्वात्तै बढेको छ,’ बुटवल मिलनचोककी पार्वती थापाले भनिन्, ‘किलोको १ सय रुपैयाँ कममा तरकारी पाइन छाड्यो।’

बुटवलमा बोडी १ सय २०, गोलभेडा १ सय २०, घिरांैला९० , लौका ८०, चिचिन्डा ७०, काँक्रा ८० रुपैयाँ पुगेको छ। खपत घटेको व्यापारी बताउँछन्। ‘तरकारी खपत कम छ,’ व्यापारी कृष्ण न्यौपानेले भने। दैनिक एक करोड कारोबार गर्ने बुटवल कृषि उपज थोक बजार केन्द्र र दैनिक २५ लाखभन्दा बढीको कारोबार गर्ने भैरहवाको मायादेवी तरकारी तथा फलफूल बजार यहाँका ठूला थोक बजार हुन्।

‘तरकारीको मूल्य जातअनुसार ३० देखि शत प्रतिशतसम्म बढेको छ,’ थोक व्यापारी हरि शर्माले भने। जिल्लामा बाढीले २ करोडभन्दा बढीको तरकारी क्षति भएको कृषि कार्यालयले जनाएको छ।

निरन्तर वर्षाका कारण उत्पादन घटेपछि पर्सामा मौसमी तथा बेमौसमी तरकारीको मूल्य छोइनसक्नु बढेको छ। आयातित तरकरीको मूल्य पनि बढेको छ। अहिले यहाँ ६० रुपैयाँ प्रतिकिलो काउलीको मूल्य ८० पुगेको छ। ४० रुपैयाँ किलो परवलको ६०, बन्दा प्रतिकिलो ४० रुपैयाँ पुगेको छ। परवल रौतहट, सर्लाही तथा भारतबाट आउँछ।

व्यापारी विजय कुशवाहा सबै खाले तरकारीको मूल्य ५० प्रतिशतदेखि शत प्रतिशतसम्म बढेको बताउँछन्। उनले अहिलेको मनसुनका कारण मूल्य बढेको बताए। ‘प्रत्येक वर्ष मनसुनमा यसरी मूल्य दोब्बर बढ्ने गरेको छ,’ उनले भने, ‘वर्षाले उत्पादन घटेपछि स्वाभाविक रूपमा मूल्य बढ्ने गरेको छ।’ यसअघि बन्द हडताल तथा कर्फयुको समयमा यहाँ तरकारीको मूल्य अकासिएको थियो।

बाढीको प्रभाव
झरी र बाढीले अकासिएको तरकारीको मूल्य रुपन्देहीको भैरहवा क्षेत्रमा घट्न थालेको छ। २/३ दिनयता पानी परेको छैन। ‘वर्षा र बाढीले किसानलाई असर गरेकाले तरकारी अभाव हुँदा मूल्य एक्कासि बढेको थियो,’ भैरहवास्थित मायादेवी तरकारी तथा फलफूल बजारका सञ्चालक हाफिज मुसलवानले भने, ‘वर्षा र बाढीले किसानलाई बजारसम्म आउन समस्या भयो।’

एक साताभन्दा लामो समय भएको वर्षा र त्यसपछि आएको बाढीले सञ्चालन नभएपछि किसान आफ्नो उत्पादन लिएर बजारसम्म आउन सकेका थिएनन्। तीन दिन अघिसम्म भैरहवामा बोडी १ सय, बन्दा ७०, करेला १ सय, लौका ६०, भिन्डी १ सय, टमाटर १ सय, भान्टा ८०, काँक्रा ७०, घिरौंला १ सय, परवल १ सय, काउली १ सय २० रुपैयाँ प्रतिकिलो थियो। उपभोक्ताका अनुसार अझै मूल्य चर्को छ। सबैभन्दा महँगो धनियाँको पात छ। यसको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ छ।

(चितवनबाट शिव पुरी, हेटौंडाबाट प्रताप विष्ट, पर्साबाट शंकर आचार्य, बुटवलबाट अमृता अनमोल र भैरहवाबाट माधव ढुंगाना)

source: http://bit.ly/2atjP25 (ekantipur online)