August 15th, 2016
ट्राइकोनोसिस पशुपन्छीबाट मानिसमा सर्ने रोग हो । हाम्रा केही समुदायमा सुँगुर, बङ्गुर तथा बँदेलको मासु उसिनेर, साँधेर खाने प्रचलन छ । यी जनावर यस परजीवीबाट प्रभावित भएका रहेछन् भने यो रोग लाग्न सक्छ । घरपालुवा सुँगुर, बङ्गुर तथा जंङ्लमा विचरण गर्मे बँदेल यो परजीवीको आश्रय स्थल हो । अझ होटल, रेस्टुरेन्ट अनि पार्टी प्यालेसको रछ्यान नै सहरी बङ्गुरको मुख्य आहार भएका बेला आम उपभोक्ता कति जोखिममा होलान् ? अझ वधशाला अनुगमन अनि मासु जाँच त दसैँैमा एकपटक गर्ने चलन छ । त्यसैले बङ्गुरपालनको प्राज्ञिक व्यवस्थापन अनि वधशालाको प्राविधिक सुपरीवेक्षण गर्ने हो भने उपभोक्तामा सुँगुर, बङ्गुर तथा बँदेलजन्य मासुका परिकारप्रति आत्मविश्वास बढ्ने अवस्था रहन्छ । प्राज्ञिक शब्दमा यसलाई ट्राइकोनेलोसिस भनिन्छ भने बोलीचालीको भाषामा ट्राइकोनोसिस । जुन पशुपन्छीबाट मानिसमा सर्ने रोग मानिन्छ । पशुपन्छीबाट उपलब्ध मासु अधकल्चो पकाएर खाँदा यो रोग लाग्छ । यो रोग फुच्चे गोल जुका ट्राइकेनेला एस्पाइरालिसको कारण हुन्छ । यस प्रजातिको परजीवीलाई एक्लै सम्बोधन गर्दा ट्राइचिना भनिन्छ । जुन ग्रिक शब्दावलीमा रौँजस्तै भनिन्छ । यो रोगबाट बच्न मासुलाई हाम्रो मौलिक परिकारजस्तो गरी राम्ररी पकाएर सेवन गरिने हो भने सजिलै बच्न सकिन्छ । 

यो रोगका घटना, दुर्घटना, परिघटना

सन् १९६५ मा यस परजीवीले मानव स्वास्थ्यका लागि गम्भीर चुनौती दिएको अनुमान गरिएको थियो । विगतका दशकमा अमेरिकामा गरिएको एक अनुसन्धानमा बर्सेनि १०० देखि १५० मानिस यो रोगका कारण मृत्यु हुने गरेको देखाइएको छ । एक अध्ययनअनुसार ७३ प्रतिशत सुँगुर, बङ्गुर तथा बँदेलजन्य अधकल्चो पाकेको मासु सेवन गर्ने मानिसमा यो रोग पाइएको अभिलेख छ ।

सन् १९५० मा होटल, रेस्टुरेन्टका रछ्यान अनि सहरी तथा ग्रामीण क्षेत्रका फोहोरमैला बटुली पालिएका बङ्गुरमा यो परजीवीको संक्रमण पाइएको थियो । यस कारण कतिपय पश्चिमी विकसित मुलुकमा यसरी बङ्गुर पाल्न कानुनी रुपमा प्रतिबन्ध छ । तर हाम्रो आफ्नो परिवेशमा बङ्गुरपालनको प्रमुख आधार नै यही रहेको अवस्थामा हाम्रा जनसमुदायमा त्यसको जोखिम उच्च छ । तर व्यवस्थित प्राज्ञिक अध्ययन अनुसन्धान गरिएको छैन भन्दा हुन्छ । त्यसैले कतिपय मुलुकमा यसको प्रकोपबाट बच्न उपभोक्ता सचेतना शिक्षा सञ्चालन हुने गरेका छन् ।

व्यवस्थित वधशाला, वधस्थल तथा मासु जाँच कानुनी व्यवस्था लागू नभएको अवस्थामा वैध, अवैध रुपमा पशुपन्छी वध गरिने चलनका कारण हाम्रा कति जनसमुदाय जोखिममा छ ? यसै भन्न सकिन्न । अझै हाम्रा ग्रामीण क्षेत्रमा त यी प्राणीले डुलेरै आफ्नो आहारा जोहो गर्छन् । हाम्रा १५/२० प्रतिशत जनसमुदाय यसै प्राणीबाट प्राप्त हुने मासुमा आधारित छन् । त्यसबाहेक पनि हाम्रो आफ्नो परिवेशमा केही जाति, जनजाति, सीमान्तकृत जनसमुदाय तथा विगतका द्वन्द्व प्रभावका कारण सहरी क्षेत्रमा बसाइँसराइ गरी आएका जनसमुदायको आय आर्जनको प्रमुख स्रोत नै बङ्गुरपालन भएको छ । त्यो पनि सहर बजारमा सञ्चालित होटल, रेस्टुरेन्टका रछ्यान नै आहाराको मुख्य स्रोत मानेर ।

बङ्गुर र मानिसमा रोगका लक्षण

प्राकृतिक रुपमा ट्राइकिनोसिसबाट संक्रमित बङ्गुर प्रजातिमा यसको प्रत्यक्ष लक्षण देखिँदैन । तर अत्यधिक मात्रामा यो परजीवी भेटिएकामा भने पक्षघात हुनुका साथै मुर्छा पर्ने गरेको पाइन्छ । तर मानिसमा यो परजीवीले आन्द्रा छेड्न पुग्यो भने झाडापखाला लाग्नुको साथै पेट दुख्ने हुन सक्छ । बङ्गुर प्रजातिको अधकल्चो पाकेको मासु सेवन गरेर यी परजीवी मानिसको रक्तसञ्चार प्रणालीमा प्रवाहित हुन पुगे मानिसमा ज्वरो आउने, अनुहार सुन्निने, आँखावरिपरि सुन्निने, छालामा दरफराएजस्तो हुने, नङको जरामा रक्तश्राव हुने, आँखाको साधारणत सेतो हुने भागमा पनि रक्तश्राव देखिन सक्छ । यस रोगको तीक्ष्ण अवस्थामा भने मुटुको मांसपेशीमा हुने विकृति, मायोर्काडाइटिस, निमोनिया तथा मस्तिष्कमा इन्सेफलाइटिस हुन सक्छ । सबै यी लक्षण एकैपटक देखिन पुगे बिरामीले मृत्युवरण हुन्छ ।

रोग निदान गर्ने तरिका

सामान्यत पशुपन्छी काटमार गरी मासु तयार पार्दा खसी, बोका तथा राँगा अनि बङ्गुरका पेट आन्द्रासँगको बोसोमा ससाना पानीका थैलो भेटिनु सामान्य मानिन्छ । त्यो मानवीय प्रयोग बर्जित भएको परापूर्व कालदेखि नै हो । त्यसकै भरमा यसको प्रकोप यकिन गर्न सकिन्न । बङ्गुर प्रजातिमा यसको भरपर्दो निदानको प्रस्थान विन्दु त व्यवस्थित वधस्थल, वधशाला तथा मासु जाँचको सुनिश्चितता नै हो । हाम्रो जस्तो अव्यवस्थित मासु उद्योग अनि उपभोग शृङ्खलामा यो स्तम्भकार असम्भव देख्छ, आजको स्थितिमा ।

मानिसमा भने माथि उल्लिखित लक्षण ठ्याक्कै मिले, आँखावरिपरि नपत्याउने गरी सुन्निएको पाइए, नपत्याउने गरी शरीरका मांसपेशी सुन्निए, बेला कुबेला ज्वरो आउने अनि पिनासको लक्षण देखिएमा तथा बिरामीले अधकल्चो बङ्गुर प्रजातिको मासु खाने बानी भएको पाइएमा त्थो महँगो शुल्क तिरी प्रयोगशाला परीक्षण किन गर्नु, गराउनुप¥यो ? बङ्गुर प्रजातिको अधकल्चो मासु सेवन गरेको तीन/चार हप्तापछि मांसपेशीको नमुना जाँच गरिने हो भने यो रोग भए, नभएको सङ्केत पाउन सकिन्छ । अझ जनसमुदायको रगत बेन्टोनाइट फलोकुलाटेसन जाँच यो रोगको उत्तम जाँच प्रयोगशाला विधि मानिन्छ । यसले रोग बेलैमा थाहा पाइन्छ । यसबाहेक इलैजा प्रविधिबाट छिटो तथा भरपर्दो निदान गर्न सकिन्छ । अझ वधस्थल, वधशाला अनि मासु जाँच गर्दा बङ्गुर प्रजातिको मांसपेशीको छड्के जाँच गर्ने हो भने यो रोग लाग्ला भन्ने किन चिन्ता गर्ने ?

रोग लागिहाले तङ्ग्रिने सम्भावना कति छ ?

सोखका लागि बँदेलको मासु उसिनेर भोजभतेर गर्नेमध्ये पश्चिमतिरका राजासाहेबलाई त यो रोगबारे थाहा नै छैन । जिउको मासु औँशी, पूर्णिमामा दुखे पनि आफँै निको हुन्छ रे । तैपनि जोखिममा पर्न सक्ने समुदायमा छड्के जाँच बेलाबेलामा गर्ने हो भने रोग प्रक्षेपण गर्न सकिन्छ ।

रोकथाम कसरी गर्ने

१. बङ्गुर र बँदेलको मासु खाने रहर भए १६० डिग्री फरेनहाइटमा पकाएर खानुस् । त्योभन्दा कममा पकाएर खानुभयो र रोग लाग्यो भने नर्सिङ होम जानुस् ।

२. अव्यवस्थित पशुपन्छी वधशाला व्यवस्थित गर्नुप¥यो । उपभोक्तासम्म पुग्ने सबै पशुपन्छी प्रजातिको मासु, पशुपन्छीको किसिमअनुसार मासु पशुचिकित्सकबाट प्रमाणित हुनुपर्छ ।

३. छाडा सुँगुर, बङ्गुर पालन व्यवस्थित गर्नैपर्छ ।

४. होटल, रेस्टुरेन्ट अनि महानगरपालिकाको फोहोरको डङ्गुरबाट बटुलेको रछ्यान प्रशोधन वा निषेध गरी व्यवस्थित बङ्गुर पालनको व्यवस्था हुनुप¥यो ।

५. सहरी र ग्रामीण क्षेत्रमा व्यवस्थित शौचालय सञ्चालन हुनुप¥यो ।

उपचार

आजसम्म त पत्ता लागेको छैन ।

नियन्त्रण अनि रोकथाम

बङ्गुरपालनको वैज्ञानिक व्यवस्थापन, वधस्थल अनुगमन अनि मासु जाँच तथा प्रमाणीकरण साथै जनसमुदायमा यस रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ । खोपको निर्माणका लागि विश्व पशु चिकित्सक समुदाय प्रयत्नशील छ ।

- Source: www.ratopati.com